परवानीपुर – वीरगंज–सिमरा औद्योगिक करिडोरका उद्योगहरुमा स्वच्छ ऊर्जा र ऊर्जा दक्षता प्रवद्र्धन गर्ने उद्देश्यले सिमराको इच्छा होटलमा आजदेखि १० दिने क्षमता अभिवृद्धि तालिम शुुरु भएको छ । नर्वे सरकारको सहयोगमा ‘नेपालको हरित औद्योगिक भविष्यका लागि ऊर्जा (पावर–जिआइएफ) ’ परियोजना अन्तर्गत आईएसओ ५०००१÷५०००५ र आईएसओ १४००१ इनर्जी म्यानेजमेन्ट सिस्टमको एकीकरण सम्बन्धी तालिम सञ्चालन हुने परियोजना प्रबन्धक डा. नवराज सन्जेलले जानकारी गराए ।
तालिममा वीररगंज–सिमरा करिडोरका म्यागनस फर्मा, प्रालि,नारायणी माइक्रो पाइप उद्योग प्रालि,महालक्ष्मी सोलभेन्ट एण्ड रिफाइनरी प्रालि,श्रृष्टि फूड इण्डष्ट्रिज,जीतपुर एग्रो फूड प्रालि,यात्सा डेरी,हस्क पावर नेपाल प्रालिलगायत २० वटा विभिन्न उद्योगका वरिष्ठ व्यवस्थापक र प्राविधिक कर्मचारीहरु गरी कुल ४० जनाको सहभागिता रहेको छ ।
तालिममा ऊर्जा अडिट, ऊर्जा दक्षताका उपायहरुको पहिचान र कार्यान्वयन, ऊर्जा कार्यसम्पादन अनुगमन लगायत अन्तर्राष्ट्रिय मापदण्डका बारेमा व्यावहारिक ज्ञान सहभागीहरुलाई सिकाइनेछ । तालिममा मुख्य प्रशिक्षक वेंकट विनय विक्रम रहेका छन् भने सहायक प्रशिक्षकहरुमा एम्बिडिएन्स ग्लोबल प्रालिका प्रबन्ध निर्देशक डा.अनन्तप्रसाद शुक्ला,सोही कम्पनीका परियोजना संयोजक डा.डि आशा रहेका छन् ।
उक्त परियोजना ग्रामीण प्रविधि केन्द्र, नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग परिसंघ र सिइ÷आईओइलगायतको कन्सोर्टियमले कार्यान्वयन गरिरहेको छ ।उक्त तालिम असोज २३ गते समापन हुने आयोजकले जनाएको छ । सहभागी ४० जना मध्ये २० जनाको विहान र २० जनाको दिउँसो गरी दुई चरणमा तालिम आयोजना भएको जनाइएको छ ।
ग्रामिण प्रविधि केन्द्र, नेपाल (CRT/N) को अगुवाइमा कार्यान्वयन भइरहेको यो परियोजनामा नेपाल विद्युत् प्राधिकरण (NEA), नेपाल उद्योग परिसंघ (CNI), उर्जा अध्ययन केन्द्र, त्रिभुवन विश्वविद्यालय (CES/IOE/TU), तथा आम्विडियन्स ग्लोबल प्रा.लि. (AmbiGlo) साझेदार संस्थाका रूपमा संलग्न छन् ।






