वीरगंज, असोज १४ –
पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद र लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ।
दलित महिला संघ पर्साको आयोजना तथा वुमन फन्ड एसियाको सहयोगमा सञ्चालित ‘महिला नेतृत्वका लागि अभियान परियोजना’ अन्तर्गत गाउँपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।
गाउँपालिका उपाध्यक्ष ज्योति देवी चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्रकी कौशलया कुमारी, कुमारी बिन्दु देवी, दलित महिला संघ पर्साकी कोषाध्यक्ष संगीता दासलगायत स्थानीय दलित महिला, युवा तथा अगुवाहरूको सहभागिता थियो।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक निला रामले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा ३७ जनाको सहभागिता रहेको थियो। जात, नारीवाद, लैंगिक समानता तथा स्थानीयस्तरमा महिलाले भोग्दै आएका समस्याबारे सहभागीबीच छलफल गरिएको आयोजकले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष चौरसियाले महिला सशक्तीकरणबिना समाज र देश बलियो बन्न नसक्ने बताउँदै जातीय विभेद, लैंगिक असमानता र महिलामाथि हुने हिंसा अन्त्यका लागि महिला नेतृत्व विकास आवश्यक रहेकोमा जोड दिइन्।






