वीरगंज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगको सयौं श्रमिकहरूलाई ९ महिनादेखि तलब नदिएको भन्दै बुधवार सदनको ध्यानाकर्षण गराएका छन् ।
उनले श्रमिकहरुले करीब अढाई करोड भन्दा बढी पारिश्रमिक नपाएको भन्दै दशैको मुखमा यथाशीघ्र तलब भुक्तानीका लागि समन्वय एवं सहजीकरणको पहल गरिदिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
पर्सा क्षेत्र नं. १ का सांसद तथा रास्वपा सभापति समेत रहेका पन्तले कुनै समय हजारौं श्रमिकहरूलाई रोजगारी दिने ज्योति समूहको यो ब्यापारिक प्रतिष्ठान अहिले १५० जना श्रमिकको समेत ज्याला दिन नसक्ने दयनीय अवस्थामा पुग्नुको मुख्य कारण के हो ? भनी सोधखोजसमेत गरेका छन् ।
पछिल्ला सरकारहरूको गलत आर्थिक एवं बैंकिङ लगानी नीतिकै कारण निम्तिएका यस्ता औद्योगिक संकटको गम्भीर समिक्षा गर्दै त्यस्ता संकटग्रस्त उद्योगहरूलाइ उकास्न विशेष आर्थिक नीति ल्याइ मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सांसद पन्तले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।






