ठोरी , असोज १६ –
पर्साको ठोरी गाउँपालिका–४ मा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीयमा त्रास फैलिएको छ। बिहीबार राति पर्सा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीले घर तथा बालीनालीमा क्षति पुर्याउनुका साथै दुई जनालाई घाइते बनाएको हो।
कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार हात्ती बस्तीमा आएपछि सुरक्षित स्थानतर्फ भाग्ने क्रममा ७२ वर्षीया पाँचमाया स्याङ्बो र उनकी नातिनी घाइते भएका हुन्।
हात्तीले उनीहरूलाई पछ्याउँदै छिमेकीको घरसम्म पुगेको र घरको पाली भत्किँदा दुवै जना घाइते भएको पाख्रिनले बताए।
उनका अनुसार सोही रात हात्ती दुई पटक बस्तीमा प्रवेश गरेको थियो। हात्तीले एउटा घरमा क्षति पुर्याउनुका साथै घरमा भण्डारण गरिएको खाद्यान्न र उखुबाली नष्ट गरेको छ।
पछिल्ला दिनमा रातको समयमा हात्ती बस्ती पस्ने क्रम बढेपछि स्थानीय थप त्रसित बनेका छन्। उनीहरूले मानव बस्तीमा हात्ती प्रवेश गर्ने क्रम रोक्न तथा सुरक्षाका लागि सम्बन्धित निकायसँग तत्काल आवश्यक पहल गर्न माग गरेका छन्।






