ठोरी , असोज १६ –
पर्साको ठोरी गाउँपालिका–१ गौतमनगरमा निर्माणाधीन १५ शय्याको ठोरी अस्पताल भवन पूरा नहुँदै निर्माण कम्पनीलाई ठूलो रकम भुक्तानी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।
अख्तियारको हेटौंडास्थित कार्यालयबाट दुई दिनअघि आएको टोलीले अस्पताल भवनको स्थलगत निरीक्षण गरेको थियो। त्यसपछि गाउँपालिकाको कार्यालयमा पुगेर अस्पताल निर्माणसम्बन्धी सम्पूर्ण कागजात र फाइल नियन्त्रणमा लिएको प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए।
अस्पताल भवन निर्माणका लागि गाउँपालिका र राजेन्द्र निर्माण सेवा प्रालि डडेल्धुराबीच २०७८ वैशाख २१ गते १७ करोड ४२ लाख रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अवधिमा काम नसकिएपछि म्याद थप गरी २०८२ फागुन ३ गतेसम्म पुर्याइएको थियो।
तर हालसम्म भवन निर्माण करिब ७० प्रतिशत मात्रै सम्पन्न भएको अवस्थामा गाउँपालिकाले निर्माण कम्पनीलाई १५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाइएको छ।
यसै विषयमा उजुरी परेपछि अख्तियारले आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले तोकिएको म्यादभित्र भवन निर्माण गरी हस्तान्तरण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले काम अधुरै छाडेको बताए। उनका अनुसार निर्माण कम्पनीले काम अलपत्र पारेर सम्पर्कविहीन बनेको छ।







