वीरगञ्ज । पर्साको वीरगञ्जस्थित स्वीट मार्ट फुड प्रालिका सञ्चालक शङ्करलाल मित्तलले आफ्ना पूर्व लेखापाल विनोदकुमार पटेल र वीरगञ्जका विवादास्पद व्यवसायी निरञ्जनकुमार अग्रवालविरुद्ध एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको फर्जी चेक तयार गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार जाहेरी दिएका छन् ।
मित्तलले उद्योगको खाताबाट जारी भएको हस्ताक्षरयुक्त खाली चेक पूर्व लेखापाल पटेलले फिर्ता नगरी अग्रवालको नाममा ठूलो रकम भरी सिद्धार्थ बैंकमार्फत भुक्तानीका लागि प्रस्तुत गरेको र पछि उक्त चेक अनादर (बाउन्स) भएको दाबी गरेका छन् ।
पटेलले आफूसँग सुरक्षित रहेका पुराना खाली चेक दुरुपयोग गरी अग्रवालसँगको मिलेमतोमा आफूलाई आर्थिक क्षति पुर्याउने उद्देश्यले उक्त कार्य गरेको हुन सक्ने भन्दै मित्तलले घटनाको गम्भीर अनुसन्धान र कानुनी कारबाहीको माग गरेका छन् ।
जाहेरीअनुसार उद्योगबाट हटाइएका पूर्व लेखापाल पटेललाई मित्तलले मजदुरको ज्याला तथा दैनिक प्रशासनिक खर्च भुक्तानीका लागि विभिन्न बैंकका हस्ताक्षर गरिएका खाली चेकहरू विश्वासका आधारमा जिम्मा दिने गरेका थिए ।
महिला मजदुरहरूबाट पटेलको व्यवहारबारे गुनासो आएपछि २०८३ साउन २७ गते उनको पारिश्रमिक तथा हिसाब फर्छ्यौट गरी कामबाट हटाइएको र सो क्रममा पटेलले ‘तपाईंलाई देखाइदिन्छु’ भन्दै धम्की दिएको मित्तलको दाबी छ ।
घटनाको जानकारी भने २०८३ असोज ९ गते साँझ मित्तलको मोबाइलमा प्रभु बैंकबाट चेक अनादर भएको सूचना आएपछि भएको जाहेरीमा उल्लेख छ । त्यसपछि चेकको विवरण हेर्दा एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको चेक निरञ्जनकुमार अग्रवालको नाममा जारी भएको देखिएको र अग्रवालसँग पछिल्लो समय आफूहरूको कुनै व्यावसायिक वा लेनदेन सम्बन्ध नरहेको मित्तलले बताएका छन् ।
अग्रवाल र मित्तलबीच यसअघि पनि आर्थिक कारोबारसँग सम्बन्धित कानुनी विवाद भएको थियो । अग्रवालले ‘स्वीट मार्ट फुड इन्डस्ट्रिज’सँग मेशिनरी सामान खरिदका क्रममा आफूबाट ६० लाख ३२ हजार ५२० रुपैयाँ भन्दा बढी भुक्तानी भएको दाबी गर्दै रकम तथा ब्याज फिर्ताको मागसहित मुद्दा दायर गरेका थिए । पर्सा जिल्ला अदालतले शुरूमा अग्रवालको पक्षमा फैसला गरे पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले उक्त फैसला बदर गर्दै मुद्दा खारेज गरेको थियो ।
उक्त फैसलाविरुद्ध अग्रवाल सर्वोच्च अदालत पुगेका थिए । न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गर्दै अग्रवालको पुनरावेदन दाबी नपुग्ने ठहर गरेको थियो । सर्वोच्चका अनुसार दुवै पक्षबीच २०७३ साउन २७ गते नै साझेदारी अन्त्य भई हिसाब–किताब चुक्ता भएको देखिएको थियो भने त्यसपछिको मेशिन खरिदसम्बन्धी कारोबारलाई छुट्टै करारका रूपमा हेरिएको थियो ।
सर्वोच्चले अग्रवालले दाबी गरेको हरहिसाब फर्छ्यौटका लागि फिरादमा उल्लेख गरिएका कानुनी प्रावधानबाट स्पष्ट कानुनी आधार नदेखिएको निष्कर्ष निकालेको थियो ।
यही पृष्ठभूमिमा अहिले मित्तलले अग्रवालको नाममा एक करोड २२ लाखभन्दा बढीको चेक प्रस्तुत भएको विषयलाई लिएर आपराधिक अनुसन्धानको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।
मित्तलले पटेलसँग रहेका अन्य हस्ताक्षरयुक्त खाली चेकसमेत बरामद गरी घटनामा संलग्न व्यक्तिको भूमिका अनुसन्धानबाट यकिन गर्न माग गरेका छन् ।
तर जाहेरीमा लगाइएका आरोपहरू हालसम्म प्रमाणित भएका छैनन् । चेक कसले भरेको हो, कसरी अग्रवालको नाममा पुग्यो, चेक बैंकमा कसले प्रस्तुत गर्यो र यसमा पटेल तथा अग्रवालको भूमिका के थियो भन्ने विषय प्रहरी अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।
शंकर मित्तलले प्रहरीले चाहेमा दूधको दूध र पानीको पानी छुट्टिने बताएका छन्। “वर्षौंदेखि बोलचाल, भेटघाट र फोन सम्पर्क समेत नभएका निरञ्जनलाई मैले के बापत चेक दिने ?” उनले प्रश्न गरेका छन् ।






