भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अन्तःशुल्क स्टिकर बरामद

1200x150_1200x150-01.jpg (1)

रौतहट । भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अन्तःशुल्क स्टिकर शुक्रवार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ

रौतहटको परोहा नगरपालिका–३ तेजापाकड इलाका क्षेत्रमा भारतबाट अवैध रूपमा नेपालतर्प ल्याउँदै गरिएको ठूलो परिमाणको अन्तःशुल्क स्टिकर सशस्त्र प्रहरी बल नेपाल, बीओपी सरमुजवा रौतहटको टोलीले  बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय सिमरामा पठाएको हो।

बरामद अन्तःशुल्क स्टिकर नेपाल सरकार आन्तरिक राजस्व विभागबाट जारी हुने ५० यूपी १८० एमएल साइजको मदिराको बोतलमा टाँस गर्ने प्रकृतिको ६ रोल रहेको छ। प्रत्येक रोलमा करिब २० हजारका दरले जम्मा १ लाख २० हजार थान स्टिकर रहेको सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटरले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार उक्त स्टिकरको अन्तःशुल्क दर प्रतिस्टिकर ८८ रुपियाँ २० पैसाका दरले गणना हुँदा  १ करोड ५ लाख ८४ हजार बराबरको हुने सशस्त्र प्रहरीले जनाएको छ।

उक्त सामग्री प्रचलित आर्थिक ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। सीमावर्ती क्षेत्रमा नक्कली वा अवैध अन्तःशुल्क स्टिकरको सम्भावित कारोवार तथा मदिराजन्य वस्तुको अवैध ओसारपसारमाथि थप निगरानी बढाइएको सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले बताउनुभयो ।

सम्बन्धित पोस्टहरुः