रहबर अन्सारीको आरोपप्रति निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज १८ –

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा व्यक्त गरेको आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

एसोसिएसनले चिकित्सा शिक्षा, नियामक निरीक्षण, अस्पताल सेवा तथा विद्यार्थीको शैक्षिक वातावरणजस्ता विषय सामान्य प्रकृतिका नभएको भन्दै यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ ।

प्रेस विज्ञप्तिमार्फत एसोसिएसनले कुनै मेडिकल कलेजमा अनियमितता भएको भए चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त नियामक निकायबाट छानबिन गरी कानुनअनुसार कारबाही हुनुपर्ने स्पष्ट पारेको छ ।

एसोसिएसनका अनुसार आरोप र प्रमाणित तथ्य एउटै विषय होइनन् । आधिकारिक छानबिन तथा निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा सार्वजनिक गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठा, विद्यार्थीको मनोबल, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यावसायिक प्रतिष्ठा र स्वास्थ्य सेवाप्रतिको जनविश्वासमा असर पर्न सक्ने बताइएको छ ।

एसोसिएसनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई आरोपबारे शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । साथै विद्यार्थीको भविष्य, बिरामीको सेवा र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राखेर संयमित र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन सबै पक्षलाई अनुरोध गरेको छ ।

सम्बन्धित पोस्टहरुः