बारा , असोज १८ –
भारत–नेपाल सीमामा तस्करीविरुद्धको कारबाहीका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ९६० किलो चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
बारासँग सीमा जोडिएको भारतको नायकटोला गाउँनजिक शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
एसएसबीका अनुसार नेपालतर्फबाट साइकलमा सामान लोड गरी भारत प्रवेश गरेर पुनः नेपालतर्फ फर्किँदै गरेका व्यक्तिमाथि निगरानी राखिएको थियो । शंकास्पद गतिविधि देखिएपछि घेराबन्दी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
तलासीका क्रममा ६ वटा साइकलमा लोड गरिएको २४ बोरा चकलेट बरामद भएको एसएसबीले जनाएको छ । बरामद चकलेटको कुल तौल ९६० किलो रहेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन् ।
एसएसबीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ चकलेट लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका ६ जना, बरामद चकलेट तथा साइकललाई थप कानुनी कारबाहीका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निगरानी तथा गस्ती थप कडा पारिएको एसएसबीले जनाएको छ।






