प्याब्सन राइम्स फेस्ट २०८३ मा विद्या सदन प्रथम, मूनलाइट दोस्रो र लिटल फ्लावर तेस्रो

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज।  वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित प्याब्सन राइम्स फेस्ट २०८३ मा विद्या सदन २६९ अंक प्राप्त गर्दै प्रथम भएको छ। प्रतियोगितामा मूनलाइट स्कुल २४१ अंकसहित दोस्रो र लिटल फ्लावर स्कुल २२६.५ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

त्यस्तै, रोयल एकेडेमी २२०.५ अंकसहित चौथो तथा ज्ञानदा एकेडेमी २१८.५ अंकसहित पाँचौँ स्थानमा रहेका छन्। उत्कृष्ट पोसाक प्रस्तुतिका लागि गुरुकुल पन्ना मेमोरियललाई ‘बेस्ट कस्ट्युम अवार्ड’ प्रदान गरिएको थियो।

विद्यालय तहका विद्यार्थीको नृत्य, सिर्जनशीलता तथा प्रस्तुति क्षमताको विकास गर्नुका साथै सामाजिक र शैक्षिक विषयप्रतिको उनीहरूको बुझाइ उजागर गर्ने उद्देश्यले प्याब्सन राइम्स फेस्ट आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रतियोगिताका क्रममा विद्यार्थीहरूले आफ्ना राइम्स तथा प्रस्तुतिमार्फत शिक्षा, शान्ति, मानवता, जंक फुड र स्वस्थ खानपानलगायत समाजसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण विषय उठाएका थिए। आकर्षक प्रस्तुति, सन्देशमूलक विषयवस्तु र सिर्जनात्मक शैलीले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

कार्यक्रमका संयोजक प्याब्सन महानगर सदस्य विजयकुमार बल रहेका थिए। कार्यक्रमको संयुक्त अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी र प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए भने सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा रानी खरेल, पिंकी जोशी र द्विवेश गुप्ता रहेका थिए। कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकाइ पर्साका अध्यक्ष मोती भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, गोपाल साह, गुरुकुलका प्रधानाध्यापक तेजिन्द्र कौर, रोयल एकेडेमी स्कुलका प्रधानाध्यापक विजया ओझैया, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, महासचिव राकेशकुमार साह, आनन्द चतुर्वेदी, जितेन्द्र प्रियांशुलगायतको उपस्थिति थियो। त्यस्तै, प्याब्सन पर्साका सचिव अशोक संग्रौला तथा मिडिया संयोजक दिपु बनर्वाललगायतको पनि सहभागिता रहेको थियो।

प्रमुख अतिथि मोती भट्टराईले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक विषयप्रतिको चेतना विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रमको अध्यक्षता गर्दै प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको कला, प्रतिभा र सिर्जनात्मक क्षमतालाई पनि प्राथमिकता दिनुपर्ने बताए। विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीलाई थप उत्साहित बनाउने उनले उल्लेख गरे।

प्रतियोगितामा विद्यार्थीहरूले प्रस्तुत गरेका राइम्स, नृत्य तथा सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक मात्र नभई शिक्षा, सामाजिक चेतना र विद्यार्थी प्रतिभासँग जोडिएको सन्देशमूलक उत्सवका रूपमा स्थापित गरेको थियो।

प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाले दिएका हुन्।

सम्बन्धित पोस्टहरुः