वीरगंज, १९ असोज । मुआब्जा माग गर्दै वीरगंज–२५ श्रीसियावासीले श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट)को मुलगेटमा आज बिहान ७ बजेदेखि त्रिपाल टांगेर धर्ना दिइरहेका छन्।
धर्नाकारीहरुका अनुसार ८०–९० जनाको फिल्डबुकको जग्गा, घर, अस्पताल, स्कूल लगायतको स्ववासी जग्गाको मुआब्जा सरकारले दिन ढिलाइ गरिरहेको भन्दै प्रदर्शन गरिरहेका हुन् ।
सरकारले संरचनाको मुआब्जा दिंदा फूसको घरमा एक प्रतिशत, खपडाको घरमा डेढ प्रतिशत र पक्की घरमा २ प्रतिशत सम्पत्ति कर काट्ने भनेपछि सोको विरोध समेत गरेका छन् ।
मुआब्जाको सम्पूर्ण रकम पाउनुपर्ने र लिखित सम्झौता गरेको खण्डमा मात्र धर्ना तोड्ने वीरगंज–२५ की वडा सदस्य तेतरी देवीले बताइन् । उनले सरोकारवाला निकायले यसबारे गम्भीर नभए भोलिदेखि डाइपोर्ट सडकमै त्रिपाल टांगेर, पशु चौपायासमेत बाँध्ने र सडकमै खाना पकाएर खाने तथा दैनिक जीवन बिताउने चेतावनी समेत दिएका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रजिअको अगुवाईमा मुआब्जाको लागि मूल्यांकन समिति गठन निर्णय गरिएको थियो । सो समितिले संरचनाहरुको मूल्यांकन गरी अर्थ मन्त्रालयमा मुआब्जा रकम माग गर्ने र अर्थ मन्त्रालयले रकम पठाएपछि मात्र आन्दोलनकारीहरुलाई मुआब्जा रकम वितरण गर्न सकिने प्रशासनले जनाएको छ ।







