कक्रोचको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा व्यवस्था

1200x150_1200x150-01.jpg (1)

काठमाडौं । भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग गर्दै हुने प्रदर्शन रोक्न सुरक्षा व्यवस्था कडा गरिएको छ ।

कक्रोच जनता पार्टीको आह्वानमा हुन गइरहेको प्रदर्शन रोक्न दिल्ली मेट्रो सञ्जालका ४५ वटा स्टेसन बन्द गरिएका छन् । नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेसनमा आउने वा त्यहाँबाट छुट्ने कम्तीमा २४५ वटा रेल रद्द गरिएका छन् ।

मध्य दिल्लीको ठूलो क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ । राजधानीका सडक तथा सहरका सीमा क्षेत्रमा ठाउँठाउँमा सुरक्षाका लागि अवरोधक (ब्यारिकेड) राखिएको समाचारमा उल्लेख छ ।

‘शनिबारका लागि तय गरिएको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले दिल्लीलाई कडा सुरक्षा घेरामा राखेको हो,’ समाचारमा भनिएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग गर्दै ‘ककरोच जनता पार्टी’, अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनलगायतले प्रदर्शन आह्वान गरेका थिए ।

प्रदर्शन रोक्न शुक्रबार साँझसम्म ३० हजार प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी दिल्लीमा परिचालन गरिएको थियो । दिल्लीमा यसअघि नदेखिएको बहुस्तरीय सुरक्षा व्यवस्था लागू गरिएको समाचारमा उल्लेख छ ।

केन्द्रीय गृहसचिव गोविन्द मोहनले सबै राज्य तथा केन्द्रशासित प्रदेशलाई पत्र लेख्दै शनिबारको सभामा सरकारले प्रतिबन्ध लगाएको जानकारी गराएका थिए ।

उनले शान्ति सुव्यवस्थामा खलल पर्न नदिन र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न दिल्ली प्रहरीसँग समन्वय गरी सम्भावित घटनालाई रोक्न निर्देशन दिएका थिए ।

यसैबीच, विपक्षी राजनीतिक दलका नेताहरूले शुक्रबार साँझ राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरेका छन् । उनीहरूले निर्वाचन आयोग र केन्द्र सरकारबाट कथित रूपमा भएको ‘भोट चोरी’ सम्बन्धमा ज्ञापनपत्र बुझाएका थिए ।

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले यही विषयमा सोमबार भारतका प्रधानन्यायाधीश (सीजेआई) सूर्यकान्तलाई पनि ज्ञापनपत्र बुझाउने बताएका छन् ।

सम्बन्धित पोस्टहरुः