सलमान खानको डिजिटल डेब्यु, आफ्नै युट्युब च्यानलबाट फ्यानलाई सिकाउँदै अभिनय शैली

1200x150_1200x150-01.jpg (1)

मुम्बई, असोज २५ –

बलिउड अभिनेता सलमान खानले आफ्नै आधिकारिक युट्युब च्यानल ‘बिइङ सलमान खान’ सुरु गरेका छन्। अक्टोबर ९ मा इन्स्टाग्राम स्टोरीमार्फत च्यानल सार्वजनिक गरेका उनले त्यसमा भिडियोसमेत राख्न थालेका छन्।

च्यानलमा सार्वजनिक गरिएको पहिलो भिडियोमा सलमान दुई भूमिकामा देखिएका छन्। एउटा भूमिकामा उनी अभिनय तथा व्यक्तित्व विकासका प्रशिक्षक बनेका छन् भने अर्कोमा विद्यार्थीका रूपमा प्रस्तुत भएका छन्।

भिडियोमा उनले आफ्नो चर्चित अभिनय शैली, टाउको ढल्काउने तरिका, आँखाको हाउभाउ र संवाद प्रस्तुत गर्ने शैलीबारे देखाएका छन्। दशकौँदेखि दर्शकमाझ लोकप्रिय बनेको आफ्नो सिग्नेचर शैलीलाई उनले युट्युबमार्फत फ्यानसँग साझा गरेका छन्।

बलिउड कलाकारको डिजिटल आकर्षण

पछिल्लो समय बलिउडका कलाकारहरू आफ्नै युट्युब च्यानलमार्फत दर्शकसँग प्रत्यक्ष जोडिने क्रम बढ्दो छ। वरुण धवन, कृति सेनन, आलिया भट्ट, प्रियंका चोपडा र कार्तिक आर्यनलगायत कलाकार डिजिटल माध्यममा सक्रिय छन्।

निर्देशक तथा कोरियोग्राफर फराह खानले आफ्नो कुक दिलीपसँगका रमाइला कुराकानी, सेलिब्रिटीका घरमा बनाइने परिकार र पर्दापछाडिका प्रसङ्ग समेटेर दर्शकमाझ लोकप्रियता हासिल गरेकी छन्। अर्चना पूरन सिंह र उनको परिवार पनि पारिवारिक भ्लगमार्फत दर्शकमाझ पुगिरहेका छन्।

युट्युबसँगै फिल्म र टेलिभिजनमा पनि सक्रिय

सलमान खान युट्युबमा प्रवेश गरे पनि उनको टेलिभिजन र फिल्मी व्यस्तता जारी छ। उनी ‘बिग बोस’ को २०औँ सिजन सञ्चालन गरिरहेका छन्।

त्यस्तै, अपूर्व लाखियाको निर्देशनमा बनेको ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ फिल्मको प्रदर्शन मिति भने अझै निश्चित भएको छैन। मार्चमा प्रदर्शन गर्ने भनिएको उक्त फिल्म दुई पटक स्थगित भइसकेको छ।

युट्युब च्यानलमार्फत सलमानले आफ्ना प्रशंसकसँग थप नजिक हुने र आफ्नो अभिनय शैली तथा व्यक्तित्वसँग सम्बन्धित सामग्री साझा गर्ने नयाँ बाटो रोजेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः