ओकिनावामा अमेरिकी सेनासँग सम्बन्धित अपराध बढी

1200x150_1200x150-01.jpg (1)

टोकियो , असोज २५ –

जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न ४ हजार ९९८ आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झन्डै आधा घटना ओकिनावा क्षेत्रमा भएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, उक्त अवधिमा ओकिनावामा २ हजार ४४७ घटना दर्ता भएका छन्, जुन कुल घटनाको ४९ प्रतिशत हो। कानागावामा १८.३ प्रतिशत र टोकियोमा ८.९ प्रतिशत घटना भएका छन्।

यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कारजस्ता गम्भीर अपराधका २६६ घटना दर्ता भएका थिए। तीमध्ये ओकिनावामा १२९, कानागावामा ६७ र टोकियोमा ३४ घटना भएका छन्।

प्रतिवेदनले अमेरिकी सैन्य अड्डाहरूको उपस्थितिका कारण स्थानीय समुदायले सुरक्षा तथा सामाजिक भार वहन गर्नुपरेको उल्लेख गरेको छ। साथै, सैन्य उपस्थितिसँग सम्बन्धित आपराधिक घटनाको समस्या समाधान गर्न जापान र अमेरिकाका सरकारले पर्याप्त प्रभावकारी कदम चाल्न नसकेको प्रतिवेदनको निष्कर्ष छ।

जापानको कुल भूभागको करिब ०.६ प्रतिशत क्षेत्रफल ओगटेको ओकिनावामा देशभर अमेरिकी सेनाको विशेष प्रयोगका लागि छुट्याइएका सैन्य सुविधा तथा संरचनामध्ये झन्डै ७० प्रतिशत रहेका छन्। यसले अमेरिकी सैन्य संरचनाको ठूलो हिस्सा ओकिनावामा केन्द्रित रहेको देखाउँछ।

भर्खरै

सम्बन्धित पोस्टहरुः