बारा, २५ असोज। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हेटौंडा–पथलैया सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आइतबार बिहान करिब ५ बजे कुइक ट्वान्टी होटल अगाडि नम्बर नखुलेको सवारी साधनले पैदल हिँडिरहेका स्थानीय अन्दाजी ६०–६५ वर्षीय रामबहादुर थिङलाई ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ।
ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका थिङलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी प्रहरीकै सवारी साधनमा उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पठाएको थियो।
अस्पतालमा बिहान ७ः०३ बजे चिकित्सकले ईसीजी परीक्षण गर्दा मृत घोषणा गरेका थिए। मृतकको शव नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
घटनापछि फरार सवारी साधनको खोजी गर्ने क्रममा प्रहरीले प्रदेश–२–०३–००१च १७७७ नम्बरको योद्धा पिकअप नियन्त्रणमा लिएको छ। पिकअप चालक महोत्तरीको बर्दिवास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






