पर्सा , असोज २६ –
प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ प्रहरी निरीक्षकहरूलाई निष्पक्षता, व्यावसायिकता र नैतिकतालाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा बोल्दै उनले राजनीतिक दबाव, व्यक्तिगत स्वार्थ र अनुचित प्रभावबाट मुक्त रहेर संविधान तथा प्रचलित कानुनअनुसार काम गर्न निर्देशन दिए।
झन्डै १६ महिनाको तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले बदलिँदो अपराधको प्रकृतिसँगै अनुसन्धानका विधि पनि परिष्कृत गर्नुपर्ने बताए। उनले अनुसन्धानलाई वैज्ञानिक र प्रमाणमा आधारित बनाउन सूचना प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गरे।
नागरिकको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्नु प्रहरीको प्रमुख दायित्व भएको भन्दै प्रधानमन्त्री शाहले त्यसमा कुनै सम्झौता नगर्न आग्रह गरे। प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।





