महाबिरी झण्डा मेलाको अवसरमा बहुअरीमा कुस्ती

1200x150_1200x150-01.jpg (1)

वीरगंज । बाराको परवानीपुर गाउँँपालिका–५, बहुअरीमा महाबिरी झण्डा मेलाको अवसरमा नेपाल र भारतका प्रसिद्ध पहलवानहरूको सहभागीतामा कुस्ती दंगल सम्पन्न भएको छ।

कुस्ती दंगलको उदघाटन प्रमुख अतिथि वीरगंज महानगरपालिकाको नगर प्रमुखका प्रत्यासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले गर्नुभएको थियो। दंगलको उदघाटन गर्दै पटेलले खेलकुदको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि आफूले विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पटेलले आफू पनि खेलाडी रहेको र खेलाडी परिवारबाट आएको उल्लेख गर्दै खेलकुद क्षेत्रका समस्या तथा खेलाडीहरूको आवश्यकता आफूले नजिकबाट बुझेको बताउनुभयो। उहाँले आगामी छ महिनापछि वीरगंज महानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएमा खेलाडीहरूका लागि विशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास, एकता र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै उहाँले कुनै एउटा खेलमा मात्र सीमित नभई सबै विधाका खेलाडीलाई सहयोग गर्ने बताउनुभयो। स्थानीय तथा राष्ट्रिय स्तरमा खेलकुदको विकास गर्न खेलाडीलाई आवश्यक अवसर, प्रोत्साहन र सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।

महाबिरी झण्डा मेलाको मुख्य आकर्षणका रूपमा रहेको कुस्ती दंगलमा नेपाल र भारतका चर्चित पहलवानहरूको सहभागीताले दर्शकहरूमा उत्साह थपेको थियो। दंगल हेर्न आएका दर्शकहरूले पहलवानहरूको प्रतिस्पर्धा, शारीरिक कौशल र खेल प्रदर्शनको भरपूर मनोरञ्जन लिएका थिए। परम्परागत रूपमा आयोजना हुँदै आएको यस दंगलले स्थानीयस्तरमा कुस्ती खेलप्रतिको आकर्षण बढाउनुका साथै नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत थप मजबुत बनाउँदै आएको छ।

कार्यक्रममा परवानीपुर गाउँँपालिका–५ का वडाध्यक्ष रामेश्वर कलवार, वडा सदस्य दरा सिंह पटेल, शिवशंकर पटेल, अधिवक्ता रामचन्द्र सिंह, अजय पटेल, सुरेश पटेल, रामेश्वर पटेल र ब्रह्मदेव खलिफालगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। मेलाको अध्यक्षता छोटेलाल पटेलले गर्नुभएको थियो।

 

सम्बन्धित पोस्टहरुः