बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ। घटस्थापनासँगै सुरु हुने नवदुर्गाको पूजाअन्तर्गत नवरात्रको चौथो दिन देवी कुष्माण्डाको आराधना गरिन्छ।
नवरात्र सुरु भएसँगै देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। आज पनि विभिन्न मन्दिरमा पूजा, आराधना र दर्शनका लागि भक्तजनको भीड लागेको छ।
वैदिक सनातन धर्मावलम्बीले नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ।






