बाराको उनासी पुलमा बसले ईभीलाई ठक्कर दिँदा चालक घाइते

1200x150_1200x150-01.jpg (1)

बारा, असोज २९ –

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित उनासी पुलमा बसले ईभी गाडीलाई पछाडिबाट ठक्कर दिँदा ईभी चालक घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा बुधबार दिउँसो करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ब्रह्मदेव मण्डल घाइते भएका हुन्। उनको ढाडमा चोट लागेको र निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार काकडभिट्टाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३६५ नम्बरको बस र सोही दिशातर्फ गइरहेको मधेस प्रदेश ०४–००१ ज ०१६० नम्बरको ईभी उनासी पुलमा अगाडिबाट सवारीसाधन आएका कारण रोकिएका थिए। सोही दिशाबाट आएको को.१–०१–००१ ख ४८६५ नम्बरको बसले ईभीलाई पछाडिबाट ठक्कर दिएपछि ईभी अगाडिको बसमा ठोक्किएको थियो।

दुर्घटनामा बा.प्र.०३–००१ ख १३६५ नम्बरको बसमा सामान्य क्षति पुगेको छ। उक्त बसका चालक झापाको मेचीनगर नगरपालिका–७ निवासी ३४ वर्षीय भरत निरौला सकुशल रहेका छन्। बसमा यात्रुहरू रहेकाले आवश्यक नियन्त्रणपछि उनीहरूलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसका चालक झापाको कमल गाउँपालिका–६ निवासी ४७ वर्षीय डम्बरकुमार ताजपुरिया पनि सकुशल रहेका छन्। बस र चालकलाई हाल इलाका ट्राफिक प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएको छ।

घटनाबारे आवश्यक अनुसन्धान तथा ट्राफिक व्यवस्थापनका लागि प्रहरी सहायक निरीक्षक राजेश्वर प्रसाद चौरसियाको कमाण्डमा सात जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः