काठमाडौं । ठगी तथा बैंकिङ कसुरका विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी ४२ वर्षीया नितु ठाकुरलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
सिरहाको लहान नगरपालिका–५ स्थायी ठेगाना भएकी ठाकुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२३, धापाखेलबाट नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीविरुद्ध ठगी र बैंकिङ कसुरसम्बन्धी छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।
प्रहरीका अनुसार सविन तामाङको जाहेरीका आधारमा नेपाल सरकार वादी र ठाकुर प्रतिवादी रहेको ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उक्त मुद्दामा ठाकुरमाथि १५ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
त्यसैगरी, विभिन्न व्यक्तिको जाहेरीका आधारमा ठाकुरविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा ४२ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरसम्बन्धी मुद्दा र प्रहरी वृत्त नयाँ बानेश्वरमा ३१ लाख ५० हजार रुपैयाँ बिगोको अर्को बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार उनीविरुद्धका तीनवटै मुद्दामा जोडिएको कुल बिगो ८९ लाख २० हजार रुपैयाँ हुन्छ। पक्राउ परेकी ठाकुरलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।






