वीरगंज , असोज २९
पर्साको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा चाडपर्वलाई लक्षित गरी नागरिकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी निरीक्षक विपन कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका थिए।
अन्तरक्रियाका क्रममा स्थानीयवासीले हेल्मेटविना सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न, युवापुस्तामा बढ्दो लागूऔषध सेवन रोक्न तथा चोरी, झैझगडा र महिला हिंसाजस्ता अपराध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रहरीसँग आग्रह गरेका थिए।
त्यसैगरी, प्रहरीमा परेका उजुरीमाथि निष्पक्ष अनुसन्धान गर्न, राजनीतिक दबाबबाट मुक्त भएर कानुनअनुसार काम गर्न तथा अबेर रातिसम्म सञ्चालन हुने मदिरापसलको निगरानी बढाउनुपर्ने सुझाव दिइएको थियो। स्थानीयवासीले गाँजा, चरेस, काठ, गिट्टी–बालुवा र सीमापार हुने अवैध तस्करी नियन्त्रण गर्न तथा प्रहरीको सम्पर्क नम्बर २४सै घण्टा उपलब्ध हुने व्यवस्था मिलाउन पनि माग गरेका थिए।
उठेका गुनासा र सुझावलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक कार्कीले नागरिकसँग निरन्तर संवाद र सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाए। उनले अवैध कारोबारमा संलग्न व्यक्तिसँग सम्झौता नगर्ने र कानुन तथा तथ्यका आधारमा निष्पक्ष रूपमा काम गर्ने बताए।
चाडपर्वका बेला मात्रै नभई अन्य समयमा पनि शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रहने उल्लेख गर्दै कार्कीले अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न स्थानीयवासीसँग आग्रह गरे।
कार्यक्रममा वक्ताहरूले बडादसैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव, आपसी एकता र भाइचारा कायम राख्न आह्वान गरेका थिए।
साभार //प्रतिक दैनिक : प्रतीक दैनिक





