वीरगंज , असोज २९ –
पर्साका पोखरिया नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाको बैंक खाता सञ्चालनमा आउन नसक्दा कर्मचारी तथा शिक्षकले तीन महिनादेखि तलब पाउन सकेका छैनन्। दसैँको मुखमा तलब र चाडपर्व खर्चसमेत नपाउँदा उनीहरूलाई घरखर्च व्यवस्थापन गर्न कठिनाइ भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, वीरगंजका सूचना अधिकारी रामविनय मुखियाका अनुसार दुवै पालिकाको बैंक खाता सञ्चालन नहुँदा नियमित आर्थिक कारोबार र भुक्तानी प्रक्रिया अवरुद्ध भएको छ।
पोखरिया नगरपालिकाले चालु आर्थिक वर्षको बजेट पारित गर्न नसक्दा खाता सञ्चालन हुन सकेको छैन। सखुवा प्रसौनी गाउँपालिकामा भने अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक कारोबार सञ्चालनको अख्तियारी नदिएका कारण समस्या भएको बताइएको छ।
तलब रोकिँदा कर्मचारी तथा शिक्षकलाई दैनिक उपभोग्य सामग्री खरिद, बालबालिकाको पढाइ र घरायसी खर्च जुटाउन समस्या भएको छ। दसैँजस्तो महत्वपूर्ण चाडमा नियमित आम्दानी नहुँदा उनीहरू थप आर्थिक दबाबमा परेका छन्।
खाता सञ्चालनमा ढिलाइ हुँदा कर्मचारीको तलब र चाडपर्व खर्चमा मात्र नभई पालिकाका अन्य आर्थिक कारोबार तथा विकास निर्माणका काममा समेत असर परेको छ। सम्बन्धित पालिकाले आवश्यक प्रक्रिया पूरा गरी बैंक खाता सञ्चालनमा ल्याउन र रोकिएको भुक्तानी तत्काल सुचारु गर्नुपर्ने आवश्यकता देखिएको छ।







