अफताव आलमका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज २९ –

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमका छोरा मो. फिरदोस आलम पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन्। उनी कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्री बनेका हुन्।

कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत फिरदोसलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।

फिरदोस गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाट २९ हजार ५२८ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए। उनी मधेश प्रदेशमा कांग्रेसबाट निर्वाचित हुने एकमात्र सांसद बनेका थिए।

उनका पिता अफताव आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट तथा त्यसपछिको भनिएको हत्याकाण्डसम्बन्धी मुद्दामा उनी चर्चामा आएका थिए।

उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगंज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो।

सफाइपछि जेलमुक्त भएका अफताव आलमको २०८२ कात्तिक २१ गते उपचारका क्रममा काठमाडौंमा ६३ वर्षको उमेरमा निधन भएको थियो।

सम्बन्धित पोस्टहरुः