चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकट सेवा सुरु

1200x150_1200x150-01.jpg (1)

चितवन असोज २९ –

तयारी सुरु गरेको झण्डै तीन वर्षपछि चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइन टिकट सेवा सुरु गरेको छ। निकुञ्जले बिहीबारदेखि सौराहा पोष्टबाट परीक्षणका रूपमा ई–टिकटिङ सेवा सञ्चालनमा ल्याएको हो।

निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार परीक्षण सफल भए अन्य प्रवेश नाकामा पनि अनलाइन टिकटको व्यवस्था विस्तार गरिनेछ। निकुञ्ज प्रवेश गर्ने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी सौराहा नाकाबाट आउने भएकाले पहिलो चरणमा यही क्षेत्र छनोट गरिएको उनले बताए।

नयाँ व्यवस्थाअनुसार पर्यटकले आवश्यक विवरण भरेर अनलाइनबाटै राजस्व बुझाउन सक्नेछन्। प्रक्रिया पूरा भएपछि प्राप्त हुने क्यूआर कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिनेछ। टिकट एक दिनका लागि मात्र मान्य हुनेछ।

यसअघि पर्यटक तथा पर्यटन व्यवसायीले टिकट लिन नगदसहित निकुञ्जको प्रवेश पोष्टमा पुग्नुपर्ने बाध्यता थियो। अनलाइन सेवाले टिकट काट्न लाग्ने समय, भीडभाड र झन्झट कम हुने अपेक्षा गरिएको छ।

निकुञ्जको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा दुई लाख ७२ हजार ९२३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये दुई लाख ३७ हजार २५ जना सौराहा नाकाबाट प्रवेश गरेका थिए।

सम्बन्धित पोस्टहरुः