पर्सा- युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड र दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजना अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक श्री रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष श्री दिनेश कुमार चौधरी प्रमुख अतिथि तथा उपाध्यक्ष श्री ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष श्री फारमान अंसारी, वडा नं. २ का वडाध्यक्ष श्री विजय गैरे, वडा नं. ३ का वडाध्यक्ष श्री माधो चौधरी, वडा नं. ४ का वडाध्यक्ष श्री बासु पंजियार, शिक्षा शाखा तथा महिला तथा बालबालिका शाखाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, बालिका तथा समावेशी शिक्षा सञ्जालका प्रतिनिधि, अभिभावक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला कार्यक्रम अधिकृत श्री अमरेश प्रसाद यादव तथा अन्य सरोकारवालासहित ४१ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा नेसनल क्याम्पेन फर एजुकेसन नेपालका केन्द्रीय उपाध्यक्ष श्री राम प्रवेशले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले समावेशी शिक्षाको आवश्यकता, विद्यालय तथा स्थानीय तहको भूमिका, बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उपाय र परियोजनाबाट प्राप्त सिकाइलाई संस्थागत गर्ने विषयमा सहजीकरण गर्नुभएको थियो।







