वीरगंज २९ असोज । भारतको बिहारस्थित आरा शहरमा क्षत्रिय महासभाका अध्यक्ष रामकुमार सिंहको गोली प्रहार गरी हत्या भएको छ। बिहीवार बिहान मर्निङ वाकमा निस्किएको समयमा उनीमाथि अज्ञात समूहले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन।
आराको नवादा थाना क्षेत्रस्थित जैन कलेज नजिकै भएको उक्त घटनामा आक्रमणकारीहरूले सिंहलाई लक्षित गर्दै ७ देखि ८ राउन्ड गोली चलाएका थिए। बिहानै भएको यस सशस्त्र आक्रमणले स्थानीय क्षेत्रमा त्रासपूर्ण वातावरण सिर्जना गरेको थियो।
घटनालगत्तै स्थानीय बासिन्दाले गम्भीर घाइते सिंहलाई तुरून्तै अस्पताल पुर्रुयाए तापनि उपचारका क्रममा उनको ज्यान गयो। प्रहरीले घटनास्थलबाट ६ वटा गोलीका खोका बरामद गरेको छ र यस विषयमा सूक्ष्म अनुसन्धान अगाडि बढाइएको छ।
सेवा निवृत्तिपछि सामाजिक सेवामा संलग्न केही महिनाअघि मात्रै भन्सार अधिकृतको पदबाट सेवा निवृत्त भएका सिंह त्यसयता क्षत्रिय महासभाको नेतृत्व सम्हाल्दै विभिन्न सामाजिक तथा संस्थागत गतिविधिहरूमा सक्रिय रूपमा लाग्दै आएका थिए। उनको यसरी हत्या भएपछि महासभाका सदस्यहरू तथा स्थानीयवासीहरूले गहिरो आक्रोश व्यक्त गरेका छन् भने क्षेत्रको सुरक्षा अवस्थालाई लिएर गम्भीर चिन्ता बढेको छ।
घटनामा संलग्न आक्रमणकारीहरू को थिए र के उद्देश्यले यो हत्या गरिएको हो भन्ने विषय हालसम्म खुल्न सकेको छैन। स्थानीय प्रशासन तथा प्रहरीले घटनाको विभिन्न पाटोबाट अनुसन्धान गरी दोषीहरूको खोजी तीव्र पारेको छ।







