काठमाडौं, २९ असोज । पाकिस्तानको पेशावरस्थित दीर कोलोनीमा रहेको एक निजी विद्यालयको छाना खस्दा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ। ज्यान गुमाउनेहरूमा १३ वर्ष वा सोभन्दा कम उमेरका ३४ जना बालबालिका र एक जना महिला शिक्षिका रहेका छन।
यस दुःखद दुर्घटनामा परेका ४० भन्दा बढी व्यक्ति घाइते भएका छन। घाइतेहरूको आपत्कालीन उपचारका लागि स्थानीय अस्पतालमा विशेष सतर्कता (इमरजेन्सी) घोषणा गरिएको छ भने ट्रमा वार्डमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई उच्च तयारीका साथ खटाइएको छ।
दुर्घटनालगत्तै विद्यालय परिसरमा अभिभावक र स्थानीयको ठूलो भीड लागेको थियो। भग्नावशेषभित्र अझै मानिसहरू च्यापिएको हुन सक्ने आशङ्कामा खोजी तथा उद्धार कार्य निरन्तर जारी छ। उद्धार र राहत कार्यलाई तीव्र बनाउन राहत एजेन्सीहरूसँगै पाकिस्तानी सेनाको टोली समेत खटिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई उत्कृष्ट उपचार सेवा उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धीत निकायहरूलाई कडा निर्देशन दिनुभएको छ।
यसैगरी, खैबर पख्तूनख्वाका गभर्नर फैसल करिम कुन्डीले यस घटनालाई अत्यन्तै दुःखद त्रासदी भन्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न र विद्यालयको छाना खस्नुको वास्तविक कारण पत्ता लगाउँन विस्तृत छानबिन रिपोर्ट पेस गर्न आदेश दिनुभएको छ।







