वीरगंज , असोज ३० –
वीरगंजस्थित जीवन ज्योति माध्यमिक विद्यालयले १५ जना क्रिकेट खेलाडीलाई खेलकुद सामग्री तथा क्रिकेट पोसाक वितरण गरेको छ। विद्यार्थीमा क्रिकेटप्रतिको आकर्षण बढाउने र खेल क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले बिहीबार विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो।
विद्यालयका प्रधानाध्यापक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह प्रमुख अतिथि थिए।
कार्यक्रममा सिंहले क्रिकेट करियर निर्माणको माध्यमसमेत बनेको उल्लेख गर्दै खेलाडीलाई अनुशासन, नियमित अभ्यास र मेहनतका साथ अघि बढ्न आग्रह गरे। विद्यालय तहबाटै आवश्यक सामग्री र प्रशिक्षणको वातावरण तयार गर्न सके खेलाडीलाई जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म पुग्न सहयोग पुग्ने उनको भनाइ थियो।
प्रधानाध्यापक गुप्ताले खेलाडीलाई प्रशिक्षकको निर्देशन पालना गर्दै निरन्तर अभ्यास गर्न आग्रह गरे। विद्यालयले खेलाडीको प्रतिभा पहिचान र क्षमता विकासका लागि आगामी दिनमा पनि सहयोग गर्ने उनले बताए।
कार्यक्रममा क्रिकेटको केन्द्रीय छनोट समितिका सदस्य मुर्तुजा हावरी, राष्ट्रिय अम्पायर सतीश सिंह राजपूत, विद्यालयका निर्देशक मीनाक्षी गुप्ता, कामाक्षी गुप्ता, प्रशिक्षक प्रदीप तिवारी, कप्तान सागर यादवसहित शिक्षक, पत्रकार तथा खेलकुद क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो। कार्यक्रम सञ्चालन उज्ज्वल घिमिरेले गरेका थिए।






