वीरगञ्जको मुख्य सडक स्तरोन्नति प्रक्रिया शुरु

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, ३० असोज-  वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नति प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक चोकसम्मको ८.०५४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का आह्वान गरेको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार निर्माण व्यवसायीहरूले २०८३ कात्तिक २० गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। बोलपत्र प्रक्रियाअन्तर्गत दुवै खण्डका लागि कुल ११ करोड ५० लाख रुपैयाँ बोलपत्र जमानत (धरौटी) रकम तोकिएको छ। यद्यपि, आयोजनाको कुल लागत भने सूचनामा खुलाइएको छैन।

आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रिया अघि बढाइएको छ। पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको चार किलोमिटर सडक समेटिएको छ। यस खण्डका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-26 कायम गरिएको छ। पहिलो खण्डको बोलपत्र जमानत रकम ६ करोड रुपैयाँ र बोलपत्र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी, दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको ४.०५४ किलोमिटर सडक समेटिएको छ। यस खण्डका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-27 निर्धारण गरिएको छ। दोस्रो खण्डको बोलपत्र जमानत रकम ५ करोड ५० लाख रुपैयाँ र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ।

सडक डिभिजन कार्यालयका अनुसार इच्छुक तथा योग्य निर्माण व्यवसायीका लागि कात्तिक ९ गते बिहान ११ बजे बोलपत्रपूर्व बैठक (प्रि-बिड मिटिङ) समेत आयोजना गरिनेछ। बोलपत्र प्रक्रिया पूरा भएपछि निर्माण कार्य कहिलेबाट सुरु हुन्छ भन्ने विषय भने टुंगिन बाँकी छ।

वीरगञ्जको प्रमुख व्यापारिक मार्गका रूपमा रहेको मेनरोडको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दा, व्यापारी तथा यात्रुहरूले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएका छन्। सडक साँघुरो हुनु, सवारी चाप बढ्नु तथा धुलो र धुवाँको समस्या यहाँका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

मुख्य सडकको स्तरोन्नति सम्पन्न भएपछि वीरगञ्जको ट्राफिक व्यवस्थापन सहज हुने, आवागमन व्यवस्थित बन्ने तथा व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। साथै, सडकको अवस्था सुधारसँगै सहरको सौन्दर्यमा समेत सुधार आउने विश्वास गरिएको छ।

ठेक्का आह्वानसँगै सडक स्तरोन्नतिको प्रक्रिया अघि बढे पनि अब बोलपत्र मूल्यांकन, ठेक्का सम्झौता र निर्माण कार्य सुरु हुने समयलाई वीरगञ्जवासीले चासोका साथ हेरेका छन्।
4 hours ago|

सम्बन्धित पोस्टहरुः