काठमाडौँ- नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न प्राविधिक पदका लागि विज्ञहरूको माग गरेको छ।
केन्द्रले सरकारी निकायहरूका लागि सफ्टवेयर प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मत-सम्भारसम्बन्धी कार्य अघि बढाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गर्दै बिहीबार सूचना जारी गरेको हो।
केन्द्रले १५ विधाका विभिन्न पदहरूमा गरी कुल ४० जना जनशक्ति माग गरेको छ। माग गरिएका पदहरूमा प्रमुख प्रविधि विज्ञ, प्रोजेक्ट म्यानेजर, सेक्टर प्रमुख (प्रोजेक्ट तथा बिजनेस एनालिसिस, सफ्टवेयर इन्जिनियरिङ, क्वालिटी एनालिसिस, इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स), सिस्टम एनालिस्ट, सिनियर डेभलपर, सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटर, मध्यम तहका डेभलपर, साइबर सुरक्षा विज्ञ, क्वालिटी एनालिस्ट (QA), UI/UX डिजाइनर, जुनियर डेभलपर तथा टेक सपोर्ट रहेका छन्।
यी पदहरूको मासिक पारिश्रमिक न्यूनतम ४० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ। सबै पदका लागि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक वा स्नातकोत्तर तहको शैक्षिक योग्यता तथा सम्बन्धित क्षेत्रको कार्यदक्षता आवश्यक पर्नेछ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात् २०८३ कात्तिक १८ गतेसम्म केन्द्रको आधिकारिक वेबसाइट (www.sdoc.gov.np) मार्फत अनलाइन दरखास्त दिन सक्नेछन्।
आवेदनका साथ अद्यावधिक वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने केन्द्रले जनाएको छ।






