वीरगंज , कार्तिक १ –
बडादसैँ तथा नवरात्रको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदैछ। यस अवसरमा घरघरका दसैँघर तथा पूजाकोठामा नवदुर्गाको आठौँ स्वरूप देवी महागौरीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष असोज शुक्ल अष्टमीका दिन महागौरीको पूजा गर्ने चलन छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर देवी शैलपुत्रीको पूजा सुरु गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको पूजा गरिएको थियो।
महाअष्टमीअघि सात दिनसम्म विभिन्न स्वरूपका देवीको आराधना गरिसकेका भक्तजनले आज महागौरीको पूजा गरिरहेका छन्। हिजो फूलपाती भित्र्याएर दसैँको धार्मिक रौनक थपिएको थियो।
धार्मिक मान्यताअनुसार नवरात्रमा देवी दुर्गाको पूजा–आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ। नौ दिनसम्म पूजा गरी चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।
महाअष्टमीका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजा गर्न भक्तजनको भीड लाग्ने गर्छ।






