सिन्धुली , कार्तिक १ –
सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्।
आज बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल नदीमा खसेको हो।
दुर्घटनापछि घटनास्थलमा खटिएको प्रहरी टोलीले तीन महिलाको शव फेला पारेको थियो। घाइते चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर लगिएको थियो। उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
घाइते हुनेमा चालक ओखलढुंगाका २९ वर्षीय आशीष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ।
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।






