काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ ।
सोमबार ओमानको अल अमेरातमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेपालका ललित राजवंशीले २ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो । नेपालका रोहित पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए । ओमानका शाह फैसलले ५ विकेट लिए । जितसग नेपालको ओडीआई स्टाटस जोगिने सम्भावना बलियो बनेको छ ।






