रास्वपाले टिकट दिए नगरप्रमुखमा विजय सरावगी चुनाव लड्ने

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वनगर प्रमुख विजयकुमार सरावगीले आगामी निर्वाचनमा आफू नगर प्रमुखको उम्मेदवार रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टिकट दिए आफू चुनाव लड्ने घोषणा गर्दै उनले पार्टीले आफूभन्दा योग्य र सक्षम उम्मेदवार अघि सारेमा सहयोग गर्ने स्पष्ट पारेका छन्।

विन्ध्यवासिनी माई मन्दिरको दर्शन गर्न दलबलसहित पुगेका सरावगीले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू नगर प्रमुखको उम्मेदवार रहेको बताएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा राम्रो काम भइरहेको चर्चा गर्दै सरावगीले आफू रास्वपामै रहेर जनताको सेवा गर्ने इच्छामा रहेको बताए। आफ्नो पार्टी सदस्यता कायम नै रहेको उल्लेख गर्दै उनले विभिन्न हल्लाको पछाडि नलाग्नसमेत आग्रह गरे।

सरावगीले आफ्नो कार्यकालमा विन्ध्यवासिनी माई मन्दिरको गुरुयोजना तयार पारेको स्मरण गर्दै उक्त योजनाअनुसार काम भएको भए यस क्षेत्रको विकासले गति लिने बताए। उनले मन्दिर तथा आसपासको क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए।

यस क्षेत्रको आर्थिक तथा पर्यटन विकासका लागि आगामी दिनमा भारतीय पर्यटकलाई आकर्षित गर्ने प्रभावकारी पहल आवश्यक रहेको उनको भनाइ थियो। धार्मिक पर्यटनको सम्भावनालाई उपयोग गर्न सके वीरगञ्जसहित आसपासका क्षेत्रको विकासमा योगदान पुग्ने सरावगीले बताए।

सम्बन्धित पोस्टहरुः