वीरगंज २९ साउन । वीरगंज महानगरपालिका वडा नम्बर ६, माईस्थानस्थित दीपसन एण्ड सान्वी ज्वेलर्समा बिहीवार पर्सा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोली बिहीवार दिउँसो पसलमा छापामारी गरेपछि सुनचाँदी व्यवसायी तथा कालीगढहरूले विरोध जनाएका थिए । उनीहरूले प्रहरीविरूद्ध नाराबाजीसमेत गरेका थिए। प्रहरी टोलीले करिब तीन घण्टा पसल सञ्चालक दीपक सर्राफसँग सुनचाँदी खरिद–बिक्रीमा प्रयोग भएका बिलबिजकहरू मागेर अनुसन्धान गरेको छ । अनुसन्धानका क्रममा बिलबिजकहरूमा केही अनियमितता भेटिएपछि प्रहरीले आन्तरिक राजश्व कार्यालय वीरगंजका कर्मचारीहरूलाई बोलाएर बिलबिजकहरू जिम्मा लगाएको जनाएको छ। खरिद गरिएको सुनको मात्रा बिक्रीभन्दा बढी देखिएको र पसलमा सोही अनुसारको मौज्दात नरहेकोले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सरार्फले प्रहरीको यस्तो छापा गैरकानुनी भएको भन्दै आपत्ति जनाएका छन् ।
Facebook Comments Box