वीरगंज, २ भदौं ।
भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ ।
वीरगंजको शाह दरबार पार्टी प्यालेसमा आयोजित एक समारोहबीच पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले सो गीति भिडियो एलबमको पोस्टर अनावरण गर्दै विमोचन गरे ।
युटयुबमा सुनील पण्डित अफिसियल च्यानलमार्फत रिलिज गरिएको सो गीतमा चर्चित कलाकारद्वय निभा यादव, दिपेश शर्मा एवं गायक सुनील पण्डितका छोरा धीरज पण्डित लगायत कलाकारहरुको अभिनय रहेको छ ।
भोजपुरीका चर्चित लेखक शिव साजनले शब्द भरेको गीतमा मोन्टी मनिषको संगीत रहेको छ भने यो गीतमा भारतीय भोजपुरी चर्चित गायिका शिल्पी राजको पनि आवाजमा यो भिडियो गीत सजिएको छ ।
वीरगंज लगायत आसपासको ठाउँमा छायाकंन गरिएको सो भिडियो संगीतमा कोरियोग्राफी र निर्देशन नवीन नेपालीको र डिओपी निखिल सन्तोषले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रउ मिश्रले सामाजिक र पारिवारिक गीत संगीतमा आधारित यो गीतले घर परिवारमा श्रीमान–श्रीमती र प्रेमी–प्रेमिका मिलेर बस्दा घरेलु हिंसा न्यूनिकरणमा मदत पुग्ने सन्देश दिएको बताए । सँगसँगै गायक सुनील पण्डितको टीमलाई बधाई दिए ।
नेपाल चलचित्र पत्रकार संघ वीरगंजका अध्यक्ष सूर्य शुभचिन्तकको सहजीकरणमा सम्पन्न भएको विमोचन समारोहमा नेपाल बार एशोसिएशन पर्सा जिल्ला अदालत एकाइ अध्यक्ष रामनारायण कुर्मी, भोजपुरी फिल्मका निर्माता नन्दु श्रीवास्तव, शिव प्रसाद कुर्मी, समाजसेवी रामनरेश साह एवं पत्रकार राधेश्याम पटेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा नेपालका चर्चित कलाकार दिपेश शर्मा, निभा यादव, सन्ध्या शाह, विकाश पाठक, सुमन जयसवाल, अमन जयसवाल, जीतु जितेन्द्र, सुरेश सावरिया, इगो रेकर्डस भोजपुरी च्यानलका सञ्चालक अजय पटेल, कमेडियन रौनक नवीन, कलाकार दिव्या सिग्देल लगायतको सहभागिता थियो ।
भिडियो हेर्नुहोस