बारा, ११ भदौ । बारा जिल्लाको अमलेखगंजमा बाघको आक्रमणबाट बुधवार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका २२ का ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेका छन् ।
शर्मा बिहान स्कुटी लिएर घाँस काट्न गएका थिए । अबेरसम्म घर नफर्किएपछि परिवारजनले उनको खोजि थालेका थिए । खोजतलासको क्रममा स्कुटी र काटिएको घाँस फेला परेको थियो भने शर्मा हराईरहेका थिए । परिवारले उनि हराएको उजुरी प्रहरीमा दिएका थिए ।
उजुरी प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय अमलेखगंजमा प्रहरी निरीक्षक जय प्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा आधाभार जङ्गलमै शर्माले प्रयोग गर्ने चप्पल र केहि मात्रामा रगत देखिएको प्रहरीले जनाएको छ ।
आधाभार ब्यारेकबाट खटिएको नेपालि सेना टोली, प्रहरी टोली, वडा नं २१–२२ का वडा अध्यक्षलगायतका संयुक्त टोलीले पुनः खोजी गर्दा सडकबाट करिब तीन सय मिटर पूर्वतर्फ जङ्गलभित्र बाघको आक्रमणबाट मृत अवस्थामा शर्माको शव फेला परेको हो । शव घोप्टो अवस्थामा फेला परेको र मृतकको टाउको नरहेको प्रहरीले जनाएको छ ।