वीरगंज, २ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भएको छ । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले बुधवार ४८ जना एसपीको सरुवा गर्दा मिश्रलाई कैलाली धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा पठाएको हो ।
उनको स्थानमा काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान प्रहरी महाशाखामा कार्यरत प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई पर्साको नयाँ एसपीको जिम्मेवारी दिइएको छ । गत माघ १४ गतेदेखि पर्सा प्रहरीको कमान्ड सम्हालेका एसपी मिश्रले छोटो समयमा नै अपराध नियन्त्रण, सामाजिक सद्भाव कायम र प्रहरी–जनता सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय योगदान पु¥याएका थिए ।
उनको कार्यकालमा मधेस प्रदेशका ८ जिल्लामध्ये पर्सा प्रहरी उत्कृष्ट घोषित भएको थियो भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा देशभरमै सर्वोत्कृष्ट भई नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मानित भएको थियो । नयाँ एसपी सुदीपराज पाठकको आगमनसँगै पर्सामा अपराध नियन्त्रण र जनमैत्री प्रहरी सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।