वीरगंज, ३१ असोज । अवैध रूपमा आर्जन गरिएको ठहर भएको ५१ करोड रुपियाँँभन्दा बढी सम्पत्तिसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले विवादास्पद व्यापारी निरञ्जन कुमार अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतको आदेशपछि अग्रवाललाई वीरगंज कारागारमा चलान गरिएको हो।
मौलेश्वर कुमार सिंह राजपुतको निबेदनमा दायर सम्पत्ति शुद्धीकरण मुद्दा नं. ०८२–८१–०२०९ मा अदालतले अग्रवालविरूद्ध उक्त आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ८० बमोजिम अग्रवाललाई थुनामा राख्ने निर्णय गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार, लामो अनुसन्धानपछि अग्रवालले झुट्टा विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेको र त्यसपछि श्रीमती रितुदेवी अग्रवाललाई वैवाहिक अंगीकृत नागरिकता दिलाएको प्रमाण फेला परेको हो। विभागले दम्पतीले नागरिकता प्राप्त गरेपछि विभिन्न नाम र माध्यम प्रयोग गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको छ।
नेपाल सरकार वादी र निरञ्जन कुमार अग्रवाल प्रतिवादी रहेका यस मुद्दामा अदालतको आदेशसँगै प्रकरणले नयाँ मोड लिएको छ। अदालतको निर्णयपछि विभागले अग्रवाल परिवारको सम्पत्तिवारे थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।
Facebook Comments Box