राधेश्याम पटेल
वीरगंज, १८ कात्तिक । पर्साको वीरगंजमा दर्ता,बारा,परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा सञ्चालित डिएभीआरबी केडिया स्कूलले श्रमिकहरुको श्रम शोषण गरिरहेको खुलासा भइरहेको छ । दैनिक १० घण्टाभन्दा बढि काम गराउने तर ८ घण्टाको सेवा सुविधा मात्रै दिइरहेको श्रमिकहरुले बताएका छन् ।
नेपाली काँग्रेस निकट नेपाल ट्रेड यूनियन स्कूल एकाई अध्यक्ष ऋषि चौरसियाले विद्यालयले चालू आवको गत साउनदेखि दादागिरी गर्दै श्रमिकहरुको सेवा सुविधा कटौती गर्दै श्रम शोषण गरिरहेको खुलासा गरेका छन् । वीरगंज र देशकै पतिष्ठित औद्योगिक घाराना केडिया समुहको विद्यालय भएर पनि गरिब विपन्न श्रमिकहरुको श्रम शोषण गर्दा उक्त कुरा देखेर आफुहरुलाई उदेक लागेको उनले बताए ।
उनले अहिले सेवा सुविधाको विषयमा विद्यालयका प्रशासन प्रमुख विजय पटेलले दादागिरी शैलीमा मजदुरसंग आचरण देखाएर सेवा सुविधाबाट स्कूलको व्यवस्थापन पक्षले बञ्चित गर्दै आएको चर्चा गर्दै चाडै आफुहरुको नियमा अनुसारको सेवा सुविधा नपाए विरोधमा उत्रिने उनले चेतावनी दिए । सेवा सुविधा माग्दा प्रशासन प्रमुख पटेलले यूनियनको केही सदस्यलाई प्रवाहमा पारेर आन्दोलन तुहाउने प्रयत्न पनि गरिरहेको यूनियन अध्यक्ष ऋषि चौरसियाले जानकारी गराए । गत साउनदेखि पटकपटक विद्यालयका प्रशासन,प्रिन्सिपललगायतलाई आवगत गराई सेवा सुविधा मागदा आफुहरु उल्टै गाली खाने गरेको समेत उनले जानकारी दिए ।
चालु आवदेखि सरकारले बढाएको मासिक रु २२५० रुपैया समेत विद्यालयले हाल सम्म उपलब्ध नगराएको बताए । उमेर हद पुगेर अवकाश प्राप्त ३ जना कामदार र मृत्युवरण गरेका दुई स्टाफलाई समेत उपदानको नियमा अनुसारको सेवा सुविधा विद्यालयले उपलब्ध नगराएको ट्रेड यूनियनको भनाई छ । यस्तै रवैया रहयो भने विद्यालयको विरुद्धमा कडा आन्दोलनको घोषणा गरेर संघर्ष समेत गर्ने उनले चेतावनी दिए ।
यसै विषयमा विद्यालयका प्रिन्सिपल राकेशकुमार मिश्रसंग कुरा गर्दा उनले केही विषयमा विवाद रहेतापनि ट्रेड यूनियन र व्यस्थापन पक्ष मिलेर उक्त विवाद मिलाउने आश्वासन दिए । उनले ५ जना कर्मचारीमा २ जनाको मृत्यु भएको र ३ जना उमेर हदको कारण अवकाश प्राप्त गरेको जानकारी गराउँदै उपदान र बढ तलबको विषयमा सञ्चालक समितिमा कुरा गएको र चाडै उक्त समस्या समाधान हुने उनले स्पष्ट पारे । साथै,उनले १२ घण्टे डियुटीमा विचमा २ घण्टा अराम पनि दिइने भएकोले ८ घण्टा नै गणना हुने उनले बताउँदै बढि घण्टा काम गर्ने केही कामदारले मासिक ३–४ हजार तलब पनि थपेर पाउने गरेको उनले दावी गरे ।











