वीरगंज, १८ कात्तिक । करिब नौ दिनअघि सरूवा भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाल मंगलवार जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक रूपमा हाजिर भएका छन् ।
गृह मन्त्रालयले कार्तिक ९ गते सिडिओहरूको सरूवा गरेको थियो। सो निर्णयअनुसार दोलखाबाट सरूवा भई पर्सा आएका दाहालले लामो प्रशासनिक अनुभवसहित मंगलवारदेखि पर्सामा कार्यभार सम्हालेका हुन।
दाहालको हाजिरीका क्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन अर्याल, वीरगंज कारागारका प्रमुख लालबाबु रेग्मी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुंगेलसहित कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए।
स्वागतपछि दाहालले तत्कालै कार्यालयमा कार्यसम्पादन थाल्दै प्रशासनिक गतिविधि सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
यता जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता तथा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीड दिनहुँ बढ्ने गरेको छ । लामो लाममा लाग्नुपरेको कारण सेवाग्राहीहरु निकै मर्कामा परिरहेका छन् । नागरिकता बनाउन तथा राष्ट्रिय परिचयपत्र बनाउने कार्य छिटो छरितो हुन सकेको छैन ।
















