search

पूर्वमन्त्री तथा नेपाली काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

पढ्न छुटाउनुभयो ?

*वीरगंज , कार्तिक – २२*
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६३ वर्षीय आलमलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि केही दिनअघि उनलाई थप उपचारका लागि भारतको दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो। चिकित्सकहरूले अवस्था सुधार नआएपछि घरमै सेवा–सुसारमा राख्न सिफारिस गरेपछि उनी पुनः नेपाल फर्काइएका थिए। फर्किएपछि केएमसीमा उपचार भइरहेकै अवस्थामा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रौतहटमा मुस्लिम समुदायका प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा चिनिने आलमले २०५६ र २०६४ सालको प्रतिनिधिसभा चुनावमा नेपाली काँग्रेसबाट विजय हासिल गरेका थिए। उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निकट र विश्वासपात्र नेता मानिन्थे। श्रम तथा रोजगारमन्त्रीका रूपमा कार्य गरेका आलम काँग्रेसभित्र मधेसी–मुस्लिम समुदायको सशक्त आवाजका रूपमा परिचित थिए।
२०७६ सालमा २०६४ सालको संविधानसभा चुनावअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा संलग्नताको आरोप लागेपछि आलम पक्राउ परेका थिए। विस्फोटमा घाइते भएकाहरूलाई उपचार नगरी ईँटाभट्टामा जलाएको आरोपमा मुद्दा दर्ता भएको थियो। करिब ६ वर्ष जेल जीवन बिताएका आलम र उनका परिवारले सो आरोपलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै आएका थिए।
गत जेठमा उच्च अदालतले आदेश जारी गर्दै उनीसहित केही सहआरोपीलाई रिहा गरेको थियो। सो मुद्दाको अन्तिम टुंगो भने अझै लागेको छैन।
नक्खु कारागारमा रहँदा नै आलमको स्वास्थ्य गम्भीर बन्दै गएको थियो। ब्रेन स्ट्रोक, दुबै मृगौला क्षतिग्रस्त हुनु, आन्द्रामा संक्रमणजस्ता समस्या देखिएपछि उनलाई अन्नपूर्ण न्यूरो, वीर अस्पताल र केएमसीमा पटक–पटक भर्ना गरिएको थियो।
उनको पार्थिव शरीर काठमाडौँबाट रौतहटस्थित गृहजिल्ला ल्याउने तयारी भइरहेको परिवार स्रोतले जनाएको छ। नेपाली काँग्रेस, स्थानीय राजनीतिक नेतृत्व, समर्थक तथा मुस्लिम समुदायले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
स्व. आलमको राजनीतिक यात्रा, समुदायमा प्रभाव, संगठनात्मक योगदान र विवादित मुद्दा — यी सबैले उनलाई नेपालको समकालीन राजनीतिमा *एक प्रभावशाली र बहसयोग्य पात्र*का रूपमा स्थापित गरेको छ।
Facebook Comments Box

ताजा खबर

फागुन २१ गते चुनावको लागि केन्द्र सरकार तयार– कृषिमन्त्री परियार

राधेश्याम पटेल वीरगंज, २२ कात्तिक। कृषिमन्त्री मदन परियारले फागुन २१ गतेको घोषणा गरिएको चुनावको लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताएका...

सम्बन्धित खबर

- Advertisement -neelambads