search

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका सरोज यादव नियुक्त

पढ्न छुटाउनुभयो ?

मधेश , कात्तिक – २४
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यादवलाई आइतबारकै मितिमा नियुक्ति पत्र दिइएको छ ।
प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् । मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए ।
त्यसक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सोनलले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए । ‘उहाँको छिट्टै स्वास्थ्य लाभ होस्, त्यसपछि राजनीतिक प्रक्रिया अघि बढ्छ,’ मुख्यमन्त्री सोनलले भनेका थिए ।
तर लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो ।
*सात दलीय गठबन्धनले गरेको थियो खबरदारी* सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २३ गते प्रदेश सभाबाट राजीना घोषणा गरेका थिए ।
सोनल संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उनको राजीनामा स्वीकृत गरे पनि प्रदेश प्रमुख भण्डारीले सरकार गठनको आह्वान गरेकी थिइनन् ।
तर उनले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने आशंका मुख्यमन्त्री सोनलसहित गठबन्धन दलका नेताहरुले गरेका थिए । यही आशंकाका साथ गठबन्धनका नेता–कार्यकर्ताहरुले आइतबार प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजी गर्दै संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन गर्न माग गरेका थिए ।
साथै शनिबार बेलुकी नै गठबन्धनका नेताहरुले प्रदेश प्रमुख भण्डारीलाई भेटेर छलफल पनि गरेका थिए ।
प्रदेश प्रमुख भण्डारीलाई बिदा गरेर बाहिरिने क्रममा मुख्यमन्त्री सोनलसँग पत्रकारहरुले सात दलीय गठबन्धनका नेताहरुको आशंका गरिरहेको सन्दर्भमा प्रदेश प्रमुख उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गर्नुको कारणबारे सोधेका थिए । त्यसक्रममा मुख्यमन्त्री सोनलले भने, ‘प्रदेश प्रमुख जीले हिजै राति हामीलाई आश्वस्त गर्नुभएको छ, म जुन काम गर्छु । खुल्ला पारदर्शी र तपाईंहरुसँग छलफल गरेर गर्छु, त्यसकारणले त्यस्तो आशंकाहरु केही छैन ।’
तर अस्वस्थ्य भएकाले काठमाडौं जान्छु भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले होटल पानसमा कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएकी थिइन् । त्यही होटलमै उनले शपथ पनि खुवाएकी थिइन् ।
यो घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख भण्डारीले मधेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।
Facebook Comments Box

ताजा खबर

प्रदेश प्रमुखले मधेशको अस्मितालाई समाप्त पार्ने खेल खेलिन् : जितेन्द्र सोनल

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता...

सम्बन्धित खबर

- Advertisement -neelambads