search

मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशमा उग्र प्रदर्शन : कार्यालय तोडफोड, कर्मचारी कुटिए

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम , कार्तिक — २४
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विवाद उग्र बनेको छ। असन्तुष्ट दलका नेता र कार्यकर्ताहरूले सोमबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गर्दै कर्मचारीमाथि कुटपिट गरेका छन्।
घटनाको भिडियोमा कार्यालयमा कार्यरत एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउने प्रयास गर्दै गर्दा भिडले उनलाई घेरि कुटपिट गरेको देखिन्छ। टाउकोमा मुक्का प्रहार भएपछि उनी हातमा रहेको फाइल भुइँमा खसाल्न बाध्य भएका थिए। पछि उनका एक सहकर्मीले उनलाई आक्रोशित भिडबाट फुत्काएर सुरक्षित स्थानमा लगेको देखिन्छ।
मुख्यमन्त्री नियुक्तिको विषयमा मधेश प्रदेशमा राजनीतिक तनाव चुलिएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरिएको छ।
आज बिहानै नेपाली कांग्रेससहित असन्तुष्ट दलका सांसदहरू मुख्यमन्त्रीको कार्यकक्षभित्र पुगेर तोडफोड गरेका थिए। प्रदर्शनका क्रममा एक सांसदले राष्ट्रिय झण्डा समेत निकालेर फालेको दृश्य सार्वजनिक भएको छ।
प्रदर्शनमा सहभागी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका सांसद र कार्यकर्ताहरूले एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको निर्णय संविधानविपरीत भएको दाबी गर्दै विरोध जनाएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान कात्तिक २४ गते नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। भण्डारी बिहानै बिरामी भएको भन्दै काठमाडौं प्रस्थान गर्ने तयारीमा थिइन्। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्यलाभको शुभकामना दिंदै बिदाइ गरेका थिए।
तर, महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटल पानसमा पुगेर भण्डारीले यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन्। सो घटनापछि मधेश प्रदेशको राजनीति तरंगित बनेको छ।
निवर्तमान मुख्यमन्त्री सोनलले “प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेकी छिन्” भन्दै तीव्र प्रतिक्रिया दिएका छन्। त्यस्तै, जनमत पार्टीका अध्यक्ष डा‍. सीके राउतले यो परिस्थितिलाई “मधेशलाई स्वायत्त घोषणा गर्ने अवसर” भन्दै सडकमै प्रदेशसभा बैठक डाकेर निर्णय गर्न आह्वान गरेका छन्।
यसबीच, प्रदेश सरकारको प्रशासनिक कामकाज ठप्प भएको छ भने स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीको बाक्लो उपस्थिति जनाइएको छ।
Facebook Comments Box

ताजा खबर

मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने : कांग्रेस नेता यादव

जनकपुरधाम, २४ कात्तिकः नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वाेच्च...

सम्बन्धित खबर

- Advertisement -neelambads