अस्ट्रेलियामा सिङ भएको नयाँ प्रजातिको मौरी ‘लुसिफर’ फेला

वीरगंज , कार्तिक – २५
अस्ट्रेलियाली वैज्ञानिकहरूले टाउकोमा साना सिङ भएका रैथानी मौरीको नयाँ प्रजाति पत्ता लगाएका छन्। टाउकोमा दैत्यका जस्ता दुईवटा साना सिङ देखिएकाले वैज्ञानिकहरूले उक्त मौरीको नाम ‘लुसिफर’ राखेका बीबीसीले जनाएको छ।
पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड क्षेत्रको ब्रमर रेन्ज मा दुर्लभ जङ्गली फूलबारे अनुसन्धान गर्दैगर्दा वैज्ञानिक टोलीले ‘मेगाकाइल लुसिफर’ नामक मौरी फेला पारेको हो।
वैज्ञानिकहरूका अनुसार यो मौरीको विशेषता टाउकोमा देखिने सिङ हुन्, जुन पोथी मौरीमा मात्रै पाइन्छ। ती सिङ परागकण र रस सङ्कलन गर्न वा गुँड बनाउन प्रयोग हुने अनुमान गरिएको छ।
अध्ययनको नेतृत्व गरिरहेकी कर्टिन विश्वविद्यालयकी डा. किट प्रेन्डरगास्टले नयाँ प्रजातिको मौरीको नाम राख्न नेटफ्लिक्सको ‘लुसिफर’ सिरिजले आफूलाई प्रेरित गरेको बताउनुभयो।
उनका अनुसार यो मौरी प्रजाति सो परिवारमा २० वर्षपछि फेला परेको नयाँ खोज हो, जसले अस्ट्रेलियाको जैविक विविधतामा नयाँ पृष्ठ थपेको छ।
सम्बन्धित पोस्टहरुः