वीरगंज, ३० कात्तिक ।
हिमालयन डिष्टिलरी लिमिटेडको २५औं वार्षिक साधारणसभा आइतवार वीरगज महानगरपालिका–२१ लिपनीबिर्तामा सम्पन्न भएको छ ।
सभामा ५१ प्रतिशतभन्दा बढी शेयर संख्याको प्रतिनिधिहरु सहभागी थिए । सभामा उपस्थित सञ्चालक समितिका अध्यक्ष तथा सभाका सभापति शंकरराज पाण्डे, सञ्चालक बद्री विशाल घिमिरे, याङ्गकीला शेर्पा रुइत, कम्पनीका स्वतन्त्र सञ्चालक प्रकाशमणी घिमिरेलगायतको उपस्थिति थियो ।
साधारणसभाले आगामी चार वर्ष कार्यकालका लागि लिइने सञ्चालक चयन कार्यक्रमको लागि अधिवक्ता कमलमणी पोखरेललाई जिम्मेवारी प्रदान गरिएकोमा उनले शंकरराज पाण्डे, बद्रीविशाल घिमिरे, शिखर प्रसाइ, याङ्गकीला शेर्पा रुइत, सान्ति श्रेष्ठलाई निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन् ।
कम्पनीले आव २०८१।२०८२ को आय व्यय विवरण पारित गरेको छ । यस वर्ष बिक्री सात अर्ब १४ करोड रहेको र गत वर्ष चार अर्ब १३ करोड रहेको जानकारी गराएको छ ।
२५औं साधारणसभा ले विभिन्न विषयमा छलफल गरी निर्णय गरेको छ । संचालक समितिको तर्फबाट साधारण सभामा पेश हुने आ.व. २०८१।०८२ को वार्षिक प्रतिवेदनलाई पारित गर्ने, कम्पनीको आ.ब.२०८१।०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह हिसाब सहितको लेखा परीक्षण प्रतिवेदनलाई स्वीकृत गर्ने, यस कम्पनीको सहायक कम्पनी हिमालयन मल्टी एग्रो लि., हिमालयन फिसरीज लि. र हिमालयन ईन्डेवर अर्गानिक लि. को आ.व. २०८१।०८२ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण उपर छलफल गरी स्विकृत गर्ने, संचालक समितिले सिफारिस गरे बमोजिम हाल कायम चुक्ता पूँजिको ५ प्रतिशतले हुने नगद लाभांश रू. १५ करोड ३६ लाख ७०,०९० (लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्न स्विकृत गर्ने, आ.व.२०८२।०८३ का लागि लेखा परीक्षकको नियुक्तिका सम्बन्धमा लेखा परीक्षण समितिवाट समेत सिफारिस भई आएका SAR Associates 8 Chartered Accountants लाई नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने (सिफारिस भएका SAR Associates & Chartered Accountants पुनः नियुक्तीका लागि योग्य हुनु हुन्छ), संचालक समितिमा रहनु हुने पाँच जना संचालकको आगामी चारवर्ष अवधिका लागि चयन गर्ने, कम्पनीका विभिन्न ब्राण्डका मदिराहरूको उत्पादन अन्य कम्पनीबाट समेत गराउन सक्ने गरि टेडमार्क युजेज एग्रिमेन्ट गर्ने, संचालक समितिका अध्यक्ष तथा सदस्यहरूको दुर्घटना तथा औषधोपचार बिमा गर्ने विषय उपर छलफल गरि स्विकृत गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यसैगरी विषेश प्रस्तावहरूमा कम्पनीको प्रबन्ध पत्रको दफा ३ (क) मा संसोधन गर्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजिको २० प्रतिशत (कायम १० शेयरमा २ बोनस शेयर जारी गर्न) का दरले हुने रू. ६१ करोड ४६ लाख ८०,३६२।४५ बरावरको बोनस शेयर जारी गरी वितरण गर्न स्विकृत गर्ने, कम्पनीको साविकको अधिकृत पूँजी रू. ३ अर्ब ५० करोड बाट रू. चार अर्ब कायम गर्न स्विकृत गर्ने, साविकको चुक्ता पूँजी तीन अरब सात करोड चौतीस लाख एक हजारलाई वृद्धि गरी तीन अर्ब अडसठ्ठी करोड असी लाख बयासी हजार कायम गर्न स्विकृत गर्ने, साविकमा कायम भएको अधिकृत पूजीं र चुक्ता पूजींमा वृद्धी/संसोधन हुने हुनाले कम्पनीको प्रवन्ध पत्रको दफा ३ (क), ५(क), (ख), (ग) तथा नियमावलीको नियम ५ (क), (ख), (घ) र (ङ) मा सोही अनुसार संसोधन गर्न स्विकृत गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा हुने संसोधन सम्वन्धमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने, आ.व.२०८२।०८३ को लागि कम्पनी ऐन २०६३ को दफा १०५ (ग) ले व्यवस्था गरे भन्दा बढिको खर्चलाई पूर्व स्विकृतीको लागि विषेश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
साधारणसभाको सहजीकरण सचिव निशा निरौलाले गरेकी थिइन् ।














