वीरगंज, १ मंसिर । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आपसी द्वन्द्व हटाएर एकतावद्ध हुनुपर्ने बताएका छन् ।
सोमवार वीरगंजमा बसेको नेकपा एमाले पर्सा जिल्ला कमिटीको पाँचौं पूर्ण बैठकले एकताबद्ध भएर पार्टीका संगठनहरूले काम गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष केपी ओलीले जबजको सफल कार्यान्वयन गरी देश र मधेस प्रदेशमा एमालेलाई पहिलो पार्टी बनाएको दाबी गरे । आगामी निर्वाचनमा नेकपा एमाले केपी ओलीकै नेतृत्वमा जाने दाबी गर्दै उनले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरू ओलीलाई कमजोर बनाउन लागिपरेको बताए । महासेठले आगामी महाधिवेशनपछि पनि ओलीकै नेतृत्वमा जानुपर्ने जोड दिए ।
नेकपा एमाले पर्साले जेनजी आन्दोलनका क्रममा वीरगंजमा भएको तोडफोड, लुटपाट र आगजनीमा संल्गन पार्टीका नेताकार्यकर्तालाई पार्टीमा निष्काशन गर्ने निर्णय पनि गरेको छ ।
पर्सा जिल्ला कमिटीको पाचौं पूर्ण बैठकले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विभिन्न माध्यमले राजिनामा दिएका र आगजनी र तोडफोडमा संग्लनहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको एमाले जिल्ला सचिव महेश दासले जानकारी दिए ।
एमाले जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सुन्दर प्रसाद कुर्मीलाई प्रचार विभाग प्रमुखमा मनोनयन गरेको दासले बताए ।
बैठकले मंसिर १३ गते महाधिवेशन प्रतिनिधि सर्वसम्मतिले चयन गर्ने र २७ गते काठमाडौंमा हुने महाधिवेशन उदघाटन समारोहमा जिल्लाबाट व्यापक जनसहभागीता गराउने निर्णय पनि गरेको उनले बताए ।
बैठकमा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार जालिम मियाँ, मुन्नी श्रीवास्तव, ठाकुर प्रसाद न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य जय प्रकाश थारू, प्रदेश सभा सदस्य विणा शर्मा, पोखरीया नगरपालिकाका मेयर प्रधुम्न चौहान, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता लगायतको सहभागीता थियो ।















