वीरगंज , मंसिर – ४
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा जेन–जी युवा समूह र नेकपा (एमाले) निकट कार्यकर्ताबीच बुधबार भएको झडपपछि दुई जना निर्वाचित वडाध्यक्ष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ (४०) र वडा नं. ६ का वडाध्यक्ष कैमुद्दिन अन्सारी (३४) रहेका छन्। दुवैजना एमालेबाट विजयी जनप्रतिनिधि हुन्।
एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत सिमरा आउने कार्यक्रमबमोजिम स्वागतका लागि एमाले निकट युवा संघका कार्यकर्ता विमानस्थल क्षेत्रमा भेला भएका थिए। सोही क्रममा जेन–जी समूहले विमानस्थल बाहिर प्रदर्शन गर्दै सिमरा चोकतर्फ बढेपछि दुबै पक्ष बीच झडप भएको हो।
झडपमा ‘सम्राट्’ उपनामले चिनिने जेन–जी युवाका साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए। उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहितका केही व्यक्तिले नियोजित आक्रमण गरेको आरोपसहित इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले दुवै जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको हो।
स्थिति चर्किएपछि स्थानीय प्रशासनले केही समयका लागि कर्फ्यु जारी गरेर अवस्थालाई नियन्त्रणमा ल्याएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार जनप्रतिनिधि नै घटनामा संलग्न देखिएकाले अनुसन्धान गम्भीर रूपमा भइरहेको छ। “प्रारम्भिक बयान लिइरहेका छौँ, थप संलग्नको खोजी जारी छ,” उनले बताए।
घटनापछि जीतपुरसिमरा क्षेत्रमा पनि सामान्य तनाव कायम रहेको प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न आग्रह गरेको छ।











