वीरगंज , मंसिर – ६
नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य अघि सारेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन जोड्यो।
कप्तान रोहित पौडेल अर्धशतकबाट एक रनले चुके। ४३ बलमा ४ चौका र २ छक्कासहित ४९ रन बनाएका रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले क्याचआउट गराएका थिए।
इन्निङ्सको अन्त्यतिर रुबेन ट्रम्पलम्यानले १३ बलमा अविजित २८ रनको द्रुत प्रदर्शन गरे। जेजे स्मिथले २३ तथा डार्शी सटले १९ रन जोडे ।
कर्णालीका नन्दन यादवले उत्कृष्ट शुरुआत दिलाउँदै दुई विकेट लिए भने सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले एक–एक विकेट लिए।
लुम्बिनीले एकतिर रोहितले इनिङ्स थामिरहे पनि अर्को छेउबाट लगातार विकेट गुमायो। पहिलो ओभरमै सन्दीप जोरा (१) आउट भए। डार्शी सटसँग रोहितले ३६ रनको साझेदारी गरे पनि मध्यक्रमले ठोस योगदान दिन सकेन । अब जीतका लागि कर्णाली याक्सले १५७ रन बनाउनुपर्नेछ।











