वीरगंज , मंसिर – ७
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का छ जना अग्रणी नेता पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका छन् ।
हालै विकसित राजनीतिक परिस्थितिप्रति जसपा नेतृत्वको उदासीनता र निर्णय प्रक्रिया स्थगित भएको भन्दै उनीहरूले सामूहिक रूपमा अर्को राजनीतिक शक्तिसँग जाने घोषणा गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सूचीमा जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत छन् ।
यस्तै समाहित हुने सहमतिमा हस्ताक्षर गर्ने अन्य नेतामा केन्द्रीय सल्लाहकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, र केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् ।
नेताहरूले जारी गरेको जानकारीपत्रमा जेन–जी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक परिदृश्यमा जसपाले तत्कालीन केन्द्रीय कार्यकारिणी बैठक नबोलाएर “अनिर्णयको बन्दी” बनेको आरोप लगाइएको छ।
उनीहरूले २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धि खतरामा पर्न सक्ने मूल्यांकन गर्दै, विचार–सिद्धान्तमा सामीप्यता रहेको तथा “अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरूसँग मिलेर अघि बढ्नुपर्ने” निष्कर्ष निकालेका छन् ।
समाहित हुने सबै नेताले उक्त विषयमा औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् र चाँडै औपचारिक घोषणा हुने बताइएको छ ।











